भर्जन्म घाँसतिर मन दिई धन कमायो,
नाम क्यै रहोस पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन आज यस्तो ।।
आदिकवि भानुभक्त आचार्यले ‘घाँसी’ कवितामा यिनै सुन्दर पङ्ती उतारेका छन् । भनिन्छ, घाँस काटेर भएको आम्दानीले कुवा खनाउने इच्छा घाँसीको सुनेपछि आदिकवि भानुभक्तले ‘घाँसी’ कविता लेखेका थिए । त्यसैले भानुभक्तको ‘घाँसी’ कविताको प्रेरणा तिनै घाँसी थिए । व्यास ५ को मानहुँकोटस्थित ससुराली घर पुगेर फर्केका भानुभक्त र घाँसीको भेट घाँसीकुवा आसपास भएको थियो । उनले घाँसीकुवामा नै बसेर ‘घाँसी’ कविता लेखेका थिए भन्ने विश्वास छ । भानुभक्तलाई आदिकवि बन्ने बनाउने यही प्रेरणास्थल ‘घाँसीकुवा’ नै थियो ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डकै छेउमा रहेको छ, ‘घाँसीकुवा’ । सडक फराकिलो बनाउने तयारीसँगै ‘घाँसीकुवा’ र ‘भानु–घाँसी स्मारक पार्क’ प्रभावित हुने अवस्था छ । व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा दमौली बजारबाट पूर्वतर्फ पाँच किलोमिटर दुरीमा रहेको छ । नयाँ भौगोलिक संरचनाअनुसार साविकको घाँसीकुवा गाउँ विकास समिति नै व्यासको वडा नम्बर १२ भएको हो । घाँसीकुवा र पार्कको मुनी उत्तरतर्फ बुल्दी खोला रहेको छ । खोला किनारबाट उकास गरेर भए पनि कुवा र पार्क बचाउन पर्ने धारणा स्थानीयको छ ।